म्याद थपका लागि रवि र छविलाई आज अदालत पेश गरिँदै



पोखरा। सहकारीको रकम ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ।

म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो।


रविलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई पोखरा ल्याइपुर्‍याइएको हो।

कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइँदै छ।

प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित गराइँदै छ।

उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज अदालतमा पेश गरिनेछ।

उनी गएको असोज ६ गते पक्राउ परेका थिए।