भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ



काठमाडौं।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन्।

राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा पद्मरत्न तुलाधर लुमति गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच एकताको महत्वबारे समेत चर्चा गरे।


‘जहाँ सांस्कृतिक रुपमा मानिस एकताबद्ध छन्, त्यो धेरै शक्तिशाली समाज हो। कसैले त्यो समाजलाई कमजोर बनाउनु छ भने पहिलो चोटि नै उसको संस्कृतिमाथि हमला गर्छ’, उनले भने, ‘राष्ट्रवाद भनेको कुनै सीमामा मात्र खोज्ने कुरा होइन । हाम्रो राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्छ । त्यसैले सबै समुदाय र व्यक्तिले राज्यको स्रोत र शक्तिमा पहुँच भएको महसुस हुनुपर्छ।’

मन्त्री गुरुङले राष्ट्रिय विभूति साख्वा राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै भाषा संरक्षणको दिगोपनका लागि घरबाटै मातृभाषाको अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

‘भाषा संरक्षणका लागि सबैभन्दा पहिला पाठशाला घर हो । पहिलो गुरुआमा भनेको घरको आमा हुन्’, उनले भने, ‘धेरै आदिवासीका भाषाहरू जुन व्यवहारमा रुपान्तरण हुँदैन, शैक्षिक संस्थामा पढाइँदैनन्, साहित्यमा विकास भएको छैन र व्याकरण विकास भएको छैन । त्यस्ता भाषाहरूको संरक्षण घरघरबाट हुनुपर्छ ।’

नेपाल संवतको महत्वलाई राज्यले महत्व दिएर अघि बढ्ने मन्त्री गुरुङले बताए। नेपाल भाषासँग सिङ्गो नेपालको सार्वभौमिकता जोडिएको उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषासँगै अन्य मौलिक भाषाको संरक्षणका लागि सरकार सँगसँगै समुदायको निरन्तरता आवश्यक भएकामा जोड दिइन्। पूर्वमन्त्री एवं पद्मरत्न तुलाधर लुमति गुठीका अध्यक्ष केशवमान शाक्यले शङ्खधर साख्वालाई सुशासन, सामाजिक न्याय र आर्थिक सङ्कटको व्यवस्थापनका लागि वर्तमान नेतृत्वले प्रेरणाको स्रोतको रुपमा लिन सक्नुपर्ने बताए।