काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देश र जनताको आवश्यक्ता, ऋण तिर्न सक्ने क्षमतालगायतका कुरालाई ध्यानमा राखेरमात्रै नेपालले छिमेकी मुलुकसँग ऋण लिनुपर्ने बताएका छन् ।
आफ्नो आसन्न चीन भ्रमणबारे सुझाव लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा भाग लिएर निस्किने क्रममा उनले नेपाल ऋण लिने सन्दर्भमा योसँग लिने र अर्कोसँग नलिने भन्ने नीतिमा जान नहुने बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा आफ्नो देश र जनताको आवश्यक्ता, ऋण तिर्न सक्ने क्षमतालगायतको ख्याल गरेर निर्णय गर्न सुझाव दिएको बताए ।
चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिने कि अनुदानमा भन्ने सन्दर्भमा ‘अनुदान भनेर नेपालले टोपी नै थाप्न नहुने’ उनको सुझाव छ । अनुदानमा आएको प्रोजेक्टहरुमा झन धेरै भ्रष्टाचार भएको पाइएको नेता लोहनीले बताए ।
‘म अनुदान भनेर हरेक ठाउँमा टोपी थापेर हिँड्ने आर्थिक रणनीतिको पक्षमा छैन । अनुदानमा आएको प्रोजेक्टमा झन भ्रष्टाचार हुनसक्छ भन्ने पनि देखिइसकेको छ । जस्तो पोखराको एयरपोर्टको प्रोजेक्टमा अहिले संसद्ले पनि छानविन गरिराखेको छ । ठूलो भ्रष्टाचार भएको छ भन्ने छ । अनुदान भन्ने कुरा अहिले संसारमा घट्दै गएको छ । सबै देशहरु ऋणमै दिन खोज्छन्, अनुदानमा दिन खोज्दैनन्,’– उनले भने ।