पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस



म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् ।

पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुुनेगरेको छ । हिमशृङ्खला, सूर्याेदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य हो ।


प्रशस्त पर्यटकीय सम्भावना बोकेको टोड्के जोड्ने सडक धेरै भए यात्रा भने सकसपूर्ण हुने गरेको हालै त्यहाँको भ्रमण गरेर फर्केका बेनीका देवी जिसीले बताए । “टोड्के पुग्नै समस्या छ, पुगेपछि भने रमाइलो छ”, उनले भने ।

बेनी नगरपालिका–१० वाखेत, रघुगङ्गा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मङ्गला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । घुम्ती तथा ग्रेड नमिलेको कच्ची सडकमा बर्खा र हिउँ पर्ने समयमा यातायातका साधन चल्दैनन् ।

अन्य समयमा पनि यात्रा जोखिमपूूर्ण छ । मङ्गला–१ पूर्णगाउँका खगेन्द्र खत्रीले निर्माण भएका सडक स्तरोन्नति गर्नेभन्दा नयाँ सडक निर्माण गर्ने होडबाजीले कुनै सडक स्तरीय बन्न नसकेको बताए ।

टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले सडकको समस्याका कारण अपेक्षाकृत रुपमा टोड्केमा पर्यटक आउन नसकेका बताए ।

“हिउँ नपरेको र वर्षा नहुँदा मोटरसाइकल, जीप र ट्याक्टर मात्र चल्छन्”, उनले भने, “ढुवानी र गाडी रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here