काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे ।
त्यस क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वका रुपमा नेपाली जनताले सधैँ सम्झिराख्ने प्रतिक्रिया दिए ।
उनले भने, “उहाँ र पद्यरत्न तुलाधर शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाएर देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय छ ।”
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २०४६ सालको आन्दोलनलाई सकारात्मक विन्दुमा पुर्याउन लोकतान्त्रिक योद्धाका रुपमा योगदान गरेको स्मरण गरे ।
उनले भने, “संसदमा सभामुखका रुपमा निर्वाह गर्दा संसद् प्रतिपक्षको भएकाले उसका आवाज र भूमिकालाई उजागर दिनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।”
यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्व ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद्लाई बलियो तुल्याउने प्रेरणादायी स्रोतका रुपमा संसदीय इतिहासमा स्थापित भएको प्रतिक्रिया दिए ।
उनले भने, “ढुङ्गानाजीले स्थापित गरेका उदाहरण र योगदानका पक्षलाई लिएर जानुपर्छ । त्यसलाई अठोट गरिसकेपछि व्यवहारमा उतार्न सकिन्छ, गर्नुपर्छ ।”