दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा



दार्चुला । राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुगेका छन् ।

नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुला आइपुगेका हुन् ।


प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसहितको टोली जिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुगेका छन् ।

सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेका छन् । राष्ट्रिय गौरवका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडक निरीक्षणमा मन्त्रीद्वयसहितको टोली यहाँ आएको जनाइएको छ । छाङ्गरुबाट उनीहरु सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम तय भएको प्रजिअ जोशीले बताए ।

त्रिदेशीय सडकका रुपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्व बोकेको सडक हो । तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन् ।

विसं ०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३.५९ किमी मात्र ट्र्याक खुलाइएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले रु नौ करोड बजेट विनियोजन गरेको छ ।

उक्त रकमले १.८ किमी नयाँ ट्र्याक खोल्ने र १.२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ  । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमी छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here