काठमाडाैँ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा शनिबारदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ।
पताञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुर, डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, सूर्यविनायक नगरपालिकासमेतको संयुक्त आयोजनामा सुरु भएको शिविरमा आज बिहान वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गरेका हुन।
उनले योगलाई घरघरमा जोड्नुपर्ने र योगबाट स्वस्थ्य जीवन खोज्ने वातावरण सबैतिर सिर्जना गर्नुपर्ने बताउँदै योगलाई गाउँ, टोल, संघसंस्था र विद्यालयसँग जोडेर लैजानुपर्ने बताए।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले योगलाई दैनिक जीवनको साध्यको रुपमा लैजानुपर्नेमा जोड दिँदै विद्यालयलाई योगसँग जोडेर लैजान प्रशासनको तर्फबाट नेतृत्व लिने बताए।
कार्यक्रममा पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले पातञ्जललाई देशभर फैलाएर नेपाली जनलाई योगमय बनाउने अभियान सुरु गरेको बताए। समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले जिल्लाका चारवटै पालिकालाई योगमय बनाउने अभियान लिएर आफू टोलटोलमा पुगेको बताए।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कमला ज्ञवाली, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले साताव्यापी योग शिविर सम्पन्न भएसँगै यस क्षेत्रमा योग केन्द्र स्थापना गरेर दैनिक योग सञ्चालन गर्ने बताए।
आजको योग शिविरमा करिब ३०० जनाको सहभागिता रहेको थियो भने मन्त्री थापादेखि स्थानीयले एक घन्टा ३० मिनेटसँगै योग गरेका थिए।