ट्रम्पमाथि विश्वका नेताहरूकाे बधाईको ओइरो : मोदी, नेतान्याहु, जेलेन्स्कीले के-के भने ?



अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । स्वीङ स्टेट मानिएका स्थानमै ट्रम्पले बाजी मारेपछि उनको दोस्रोपटक ह्वाइट हाउस यात्रा तय भएको हो ।

स्वीङ स्टेट फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई अन्य राज्यको मतगणनामा पनि निकै पछाडि पारेका हुन् । ताजा अवस्थामा रिपब्लिकन नेता ट्रम्पले २६७ इलेक्टोरल मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गरेकी छन् । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतको लागि इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र तीन इलेक्टोरल मतको आवश्यक हुनेछ । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ । त्यसकारण पनि ट्रम्पको जित पक्का भएको हो ।


मतगणना अझै पनि जारी छ र औपचारिक नतिजा आउन केही समय लाग्नेछ । तर, यता ट्रम्पले आफूले जितेको घोषणा गरिसकेका छन् । बुधवार फ्लोरिडामा समर्थकले भरिएको एक हलमा सभाको आयोजना गरेर उनले आफू ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । ‘४७ औँ र ४५ औँ राष्ट्रपति निर्वाचित गरेर दिएको असाधारण सम्मानका लागि अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ ट्रम्पले भने । आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए ।

यसबीचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो लाग्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् । उनले भनेका छन्, “मेरो मित्र डोनाल्ड जे. ट्रम्पलाई ऐतिहासिक चुनावी विजयको हार्दिक बधाई। आफ्नो अघिल्लो कार्यकालमा हासिल गरेका सफलतालाई आधार मानेर अमेरिकाको नेतृत्व गर्न पाउनु भएकोमा हार्दिक शुभकामना।”

यसैगरी बेलायतका प्रधानमन्त्री किर स्टार्मर, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, युक्रेनका राष्ट्रपति भ्लादिमिमिर जेलेन्स्की, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनी, फ्रेन्च राष्ट्रपति इमानुएल माक्रों, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरलगायतले बधाई दिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here