टीकापुरका लक्ष्मण भन्छन्- ‘टीकापुरलाई जिरो स्नेक किलिङ नगर बनाउँछु’



घोडाघोडी । कैलालीको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् ।

टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्छन् । कैलालीमा मात्र नभइ सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उनले बताए।


दसैँ र तिहारमा पनि उनलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो । सबै जना तिहारको टीका लगाइरहँदा उनी भने सर्प उद्धार गर्न व्यस्त थिए । राम्रोसँग भाइटीका लगाउन नपाएका उनले त्यो दिन विषालु गोमन सर्प र धामन सर्पको उद्धार गरेका थिए ।

दसैँको समयमा पनि उनले ३० भन्दा बढी सर्पको उद्धार गरे । यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उनले बताए । उपाध्यायले सर्प उद्धार गर्दै आएको चार वर्ष पुगिसकेको छ । हालसम्म दुई हजार दुई सय ३६ वटा सर्पको उद्धार गरेको उनले बताए । गोमन, करेत, ब्यान्डेट करेतदेखि लिएर धामन, पानी सर्प र अजिङ्गरलगायतको उद्धार गरेको उनले बताए । उद्धार गरिएको धेरैजसो विषालु सर्प छन् ।

विसं २०७७ जेठतिर पहिलोपटक सर्प नचिनेर उद्धार गरेको सम्झँदै उनी भन्छन्, “साथीहरूले मजाक गरेर सर्प उद्धार गर्ने नयाँ मान्छे भेटियो भनेर सामाजिक सञ्जालमा हाले । सबैले त्यसमा राम्रो कमेन्ट गर्नुभयो, त्यो मेरो प्रेरणा बन्यो । दोस्रोपटक घरमा करेतको उद्धार गरेँ, त्यो सर्प पनि नचिनेरै उद्धार गरेको थिएँ । दुई वर्ष अगाडि पनि पूर्ण रूपमा सर्प चिन्दैनथेँ, उत्प्रेरणा नै सबैभन्दा ठूलो कुरा रहेछ, अहिले यहाँसम्म आएँ ।”

लक्ष्मणले यो कार्य स्वेच्छाले गर्दै आएका छन् । उनको एउटै उद्देश्य छ– टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने । उनी भन्छन्, “मैले काम सुरु गर्दा सडकमा सर्प मारेर फालेको भेटिन्थ्यो अहिले त्यो हटेको छ ।”

उनले टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने उद्देश्यअनुरुप सर्पको उद्धारसँगै सर्पको महत्त्व, संरक्षणबारे समुदायस्तरमा चेतना फैलाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here