गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा



झापा । हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगद सहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यस बाट विपन्न महिलालाई सहयोग पुगेको छ ।


गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम अन्तर्गत आठ पटक नियमित गर्भ जाँच गराउने महिलालाई प्रोत्साहन स्वरुप २ हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छ भने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम अन्तर्गत ४ लाख २९ हजार खर्च भएको छ ।

साथै गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आर्थिक वर्षमा उक्त कोष बाट ५ लाख २८ हजार सहायता प्रदान गरिएको थियो । 

चालु आर्थिक वर्षमा हाल सम्म कोष मार्फत १ लाख ५ सय आर्थिक सहयोग परिचालन अध्यक्ष रवीन्द्र लिङ्देन बताए ।