सिन्वार मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ?



बीबीसी । प्यालेस्टिनी समूह हमासका दुई जना अधिकारीहरूले गत बिहीबार मारिएका आफ्ना नेता याह्या सिन्वारको उत्तराधिकारी चयन गर्नका लागि अब छिट्टै छलफल सुरु हुने बताएका छन् ।

ती अधिकारीहरूले त्यसको सबैभन्दा बलियो उम्मेदवारका रूपमा गाजाबाहिर रहेका उक्त समूहका सबैभन्दा वरिष्ठ अधिकारी एवं सिन्वारका उपनेताका रूपमा काम गरेका खलिल अल–हायालाई हेरिएको बताएका छन् ।


कतारमा बस्ने अल–हायाले हाल हमास र इजरायलबीचको युद्धविराम वार्तामा आफ्नो समूहको नेतृत्व गर्दै आएका छन् । उनीसँग गाजाको अवस्थाबारे राम्रो ज्ञान, सम्बन्ध र बुझाई छ ।

इजरायलद्वारा सबैभन्दा बढ्ता खोजिएका व्यक्तिका रूपमा रहेका सिन्वार मारिएपछि हमासको नेतृत्व गर्ने व्यक्तिको चयनका लागि हमासका नेताहरू जुट्न लागेका हुन् ।

जुलाई ३१ मा इरानको राजधानी तेहरानमा पूर्व नेता इस्माइल हानिया मारिएपछि सिन्वार हमासका नेता बनेका थिए । र उनी पनि मारिएपछि दुई महिनामै नयाँ नेता चयन गर्नुपर्ने अवस्था बनेको छ ।

एकजना वरिष्ठ हमास अधिकारीले सिन्वारलाई गत वर्षको ‘अक्टोबर ७’ हमलाको योजनाकार बताउँदै उनको नियुक्तिलाई इजरायलविरुद्ध अवज्ञाको एउटा कडा सन्देशको रूपमा प्रस्तुत गरेको बताएका थिए ।

जुलाईयता युद्धविराम सम्बन्धी वार्ता अवरुद्ध छन् र धेरैले सिन्वारको नेतृत्व कुनै युद्धविराम सम्झौताका लागि अवरोधका रूपमा रहेको विश्वास गरेका थिए । एकजना वरिष्ठ हमास अधिकारीले सिन्वार मारिएपछि पनि आफ्नो अभियानको युद्धविराम सम्झौता र बन्धक रिहाइका सर्त मान्ने अवस्था नफेरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here