सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै



पोखरा । सहकारीको रकम अपचलन तथा संगठित अपराधमा जोडिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति लिनलाई उनलाई अदालतमा पेश गर्ने तयारी गरेको हो ।


शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई शनिबार विहान कास्की ल्याइएको थियो ।

शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेश गरेर प्रहरीले म्याद लिनेछ । पूर्वगृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सरकारले प्रतिवेदन कार्यन्वयनका लागि प्रहरीलाई निर्देशन दिएको छ । यसअघि असोज ६ गते गोरखा मिडिया नेटवर्कमा रविका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् ।

उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतले शुक्रबार ६ दिनको म्याद दिएको छ । गोरखा मिडिया नेटवर्कमा रवि, छविसहित ४ जना सञ्चालक रहेको पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल कास्की कारागारमा छन् ।

उनलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको हो । रकम अपचलनका मुख्य नाइके सहकारीका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु राई (जीबी) भने फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here