सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी



दैलेख । सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित उक्त सडकमा सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले भने, “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”


उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, “गतवर्षको फूलमा नोक्सानी व्यहोर्नु परेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।”

यसवर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए ।

किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले तीनजनालाई रोजगारसमेत दिएका छन् । उनले भने, “तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here