संखुवासभामा अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो



किमाथाङ्का (सङ्खुवासभा)  । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो)  ९० हजार पुगेको छ ।

झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन रु ९० हजार रहेको जानकारी दिए ।


पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए ।

गत वर्ष रु ६०/६५ हजार कारोबार भएको थियो । अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठले बताए । ग्रेडिङ राम्रो भएको अलैँची रु ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैँची रु ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ । जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् । अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् ।

सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here