वाष्प इन्जिनहरूको संरक्षण गर्न सङ्ग्रहालय बनाइने



धनुषा । नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ । 

नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा खिया लागेर समाप्त हुने क्रममा रहेका इन्जिनहरूको संरक्षण गर्नुपर्ने आवाज उठ्ने गरे पनि तिनको संरक्षण भने हुन सकेको छैन ।


यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ऐतिहासिक एवं दुर्लभ रहेका वाष्प इन्जिनहरू भएको धनुषाको खजुरीस्थित रेल्वे कारखानाको हालै निरीक्षण गरे। दुर्लभ इन्जिनहरुलाई सङ्ग्रहालयमा राख्ने विषयमा सङ्घीय सरकारसँग छलफल गर्ने बताए। रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेल्वेसँग रहेको दुर्लभ इन्जिन महत्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।   “दुर्लभ कोइला इन्जिनहरू बेलायती सरकारको पालादेखिका हुन् । ती इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, मुख्यमन्त्री सिंहले भने । 

पूर्व प्राध्यापक एवं अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार मिथिलामा आउने पर्यटकहरू र यहाँका भावी सन्ततीहरूका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण  आवश्यक छ । जनकपुर रेल्वेको आफ्नै इतिहास रहेकाले नयाँ पुस्तालाई जानकारी गराउन यसको संरक्षण आवश्यक रहेको उनको भनाइ छ । “विगतमा कुन रूपमा नेपालको रेलको विकास भएको हो । त्यसको अध्ययनमा समेत सघाउ पुग्छ”, उनले भने । 

तत्कालीन समयमा भारतमा आफ्नो प्रत्यक्ष शासन गरेको बेलायतले निर्माण गरेको रेल्वे २०६९ सालदेखि पूर्ण रुपमा बन्द रहेको थियो । जयनगर जनकपुरदेखि विजलपुरासम्म चलेको नेरोगेज रेलको इन्जिनलगायतको अन्य भौतिक संरचनालाई सङ्ग्रहालय बनाउन आवश्यक भएको डा लाभले बताए। नेपाल रेल्वेको कारखानामा थन्काइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरलगायतका नाम दिइएका ईन्जिनहरु संरक्षणको पर्खाईमा छन् । 

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सङ्घीय सरकारसँग नेपाल रेल्वे कम्पनीले रु ४५ करोड माग गरेकामा रु २१ करोड मात्र दिन तयार भएको तर त्यति खर्चमा संङ्ग्रहालय बनाउन नसकिने भएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षण गर्न आवश्यक भएको उनले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here