रुपन्देही जिल्ला अदालतबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी



बुटवल । सहकारी ठगीको अभियोगमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि प्रहरीलाई अनुमति दिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना तथा ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँगै उनका साझेदार छविलाल बन्जाडे र गोर्खा मिडियाका तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछानेसहित १२ जनालाई अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।


सहकारीको रकम हिनामिना प्रकरणमा छानविन गर्न गठित सुर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले संगठित अपराधमा पक्राउ गर्न अनुमति मागेपछि जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

सुप्रिम सहकारीका अध्यक्ष समेत रहेका ओम गुरुङ सहितलाई पक्राउ गरेर अनुसंन्धान गर्दा रवि लामिछाने गृहमन्त्री थिए । त्यसबेलासमेत रवि लामिछानेले रकम लगेको भन्दै अनुसन्धान गर्न दवाव परेपनि प्रहरीले उनको नाम हटाएको थियो ।

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा समेत सुप्रिम सहकारीबाट लामिछानेले २ करोड हाराहारी रकम लगेको र गोर्खा मिडियामा २ करोड ५० लाख रुपैया लगेको उल्लेख गरेको छ ।

अदालतको पक्राउ अनुमतिसँगै लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले मुद्धाको नियमित अनुसन्धान प्रक्रिया अन्तरगत अनुमति लिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here