रित्तो थाल बोकेर सहकारीपीडित सडकमा



गण्डकी । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे ।

उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए ।


सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताए । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । उनका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । “एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित रु एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भने ।

प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उनले जानकारी दिए । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

यही कात्तिक २ गते पक्राउ परेका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाऊँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here