राष्ट्रसङ्घका महासचिवसहित २४ मुलुकका नेता ब्रिक्समा सहभागी हुँदै



मस्को । क्रेमलिनका एक शीर्ष सहयोगीले रुसको कजान सहरमा यस महिना हुने ब्रिक्स शिखर सम्मेलनमा २४ मुलुकका नेता सहभागी हुने जानकारी दिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले २४ मुलुकले ‘नेतास्तरमा’ प्रतिनिधित्व गर्ने र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सहभागी हुने पत्रकारहरूलाई बताए ।


भोल्गा नदीको किनारमा रहेको सहरमा उदीयमान अर्थतन्त्रहरूको शिखर सम्मेलन अक्टोबर २२ देखि सुरु हुँदैछ ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति मसुद पेजेश्कियान सहभागी हुने अपेक्षा गरिएको छ । पेजेश्कियानले यस गृष्ममा पदभार ग्रहण गरेपछि रुसको पहिलो भ्रमण गर्दै छन् ।

टर्कीएले उदीयमान अर्थतन्त्रहरूको यस समूहमा सामेल हुन अनुरोध गरेपछि यसका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी हुनेछन् ।

“कजानमा हुने शिखर सम्मेलनमा हाम्रो मुलुकमा कहिल्यै आयोजना नगरिएको सबैभन्दा ठूलो विदेश नीति कार्यक्रममा परिणत हुनसक्छ”, उशाकोभले दाबी गर्दै भने ।

यो समूहले आफ्नो नाम सन् २००९ मा सामेल भएका पाँच सदस्यहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको प्रारम्भिक अक्षरहरूबाट लिएको हो र त्यसयता इरानसहित मध्यपूर्वी देशहरूलाई समावेश गर्न विस्तार गरिएको छ ।

उशाकोभका अनुसार कूल ३८ मुलुकका नेताहरूलाई आमन्त्रण गरिएको थियो र तीमध्ये नौ मुलुकले वरिष्ठ अधिकारीहरू पठाउँदैछन् । उनले पूर्वसोभियत मुलुकहरूको क्षेत्रीय सिआइएस ब्लकका सबै नेता उपस्थित हुने जानकारी दिए ।

उनका अनुसार शिखर सम्मेलन अक्टोबर २२ मा अनौपचारिक बैठकहरूबाट सुरु हुनेछ र त्यसपछि अक्टोबर २३–२४ मा औपचारिक शिखर सम्मेलन हुनेछ ।

पुटिनले पनि अक्टोबर २१ देखि सुरु गरी अक्टोबर २४ सम्म ‘करिब’ २० वटा द्विपक्षीय बैठक गर्ने उशाकोभले बताए ।

शिखर सम्मेलनअघि अक्टोबर १८ मा मस्कोमा एउटा व्यापारिक मञ्च पनि आयोजना गरिनेछ । मञ्चमा पुटिनले सम्बोधन गर्नेछन् । रुसले पछिल्लो पटक सन् २०१५ मा उफा शहरमा ब्रिक्स शिखर सम्मेलनको आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here