राजविराज व्यापारिक महोत्सव हुँदै



बोदेबरसाइन (सप्तरी) । सप्तरी सदरमुकाम राजविराज–७ स्थित राज रङ्गशालामा सांस्कृतिक, समाजिक, आर्थिक, धार्मिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव हुने भएको छ । यही कात्तिक १३ देखि सुरु हुने महोत्सव २२ गतेसम्म सञ्चालन हुनेछ ।

ड्रिम नेपाल युवा सङ्घ सप्तरीका अध्यक्ष कमलकिशोर साहले ड्रिम नेपालको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा महोत्सव आयोजना हुने आज जानकारी दिए ।


आयोजकका अनुसार मेलामा उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानीय वस्तुको प्रवर्द्धन गरिने छ । स्थानीय उत्पादनको प्रदर्शन छिटा, दौरा, दिप, ढकनालगायत माटोका सामग्री, बाँसले बनेका सामग्री अवलोकनका लागि राखिने साहले जानकारी दिए ।

जातीय छुवाछुत, धूमपान, मद्यपान, लागुऔषध प्रयोगरहित समाजको निर्माण गर्न हरेक जातजातिको पहिचान झल्काउने गरी सांस्कृतिक कार्यक्रम तथा झाँकीमार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिने अध्यक्ष साहले बताए ।

महोत्सव आयोजनाले जिल्लाको व्यापार व्यवसायले गति लिने जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालुप्रसाद अग्रवालले विश्वास व्यक्त गरे । महोत्सवबाट उठेको रकम जिल्लाको सामाजिक, शैक्षिक विकासका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here