महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकीको गोली हानी हत्या



काठमाडौँ । भारतको महाराष्ट्रका अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।


मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका रहेका छन् ।

झण्डै ४८ वर्षदेखि कांग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए । बाबा सिद्दिकीले १६–१७ वर्षको उमेरदेखिनै कांग्रेसमा काम गर्न थालेका थिए । १९९२ र १९९७ मा, बाबा सिद्दीकी कांग्रेसको टिकटमा मुम्बई सिविक बडीको लागि निर्वाचित भएका थिए । बाबा सिद्दीकी सन् १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । सन् २००४ र २००९ मा पनि बाबा सिद्दीकीले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए ।

बाबा सिद्दीकी सन् २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्ति मन्त्री बनेका थिए ।

२०१७ मा, ईडीले मनी लान्ड्रिंग केसमा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् र उनका छोरा जीशान बढी सक्रिय थिए । २०१४ मा बाबा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपाबाट हारे तर २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भए ।

उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक थिए । यस क्षेत्रमा धेरै बलिउड सेलिब्रेटीहरू बस्छन् । हरेक वर्ष रमजानको महिनामा बाबा सिद्दिकीको इफ्तार पार्टीको चर्चा हुने गरेको छ । उनको इफ्तार पार्टीमा राजनीतिज्ञ बाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रेटीहरू पनि उपस्थित हुने गरेका थिए । शाहरुख खान र सलमान खानको बीचमा वर्षौंसम्म चलिरहेको दरारलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । बाबा सिद्दीकी कांग्रेसका वरिष्ठ नेता तथा चर्चित अभिनेता सुनील दत्तको पनि नजिक थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here