बोलिभियादेखि इन्डोनेसियासम्म तीव्र गतिमा वनविनाश जारी



पेरिस । सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको मङ्गलबार प्रकाशित एउटा प्रमुख अध्ययनमा उल्लेख छ ।

दुई दर्जन अनुसन्धान संस्था, गैरसरकारी संस्था र वकालत समूहहरूका अनुसार सन् २०२३ मा करिब आयरल्यान्डको आकारको वन नष्ट भयो र यसमा ६३ लाख ७० हजार हेक्टर रुख काटिए वा जलाइए ।


संसारलाई दशकको अन्त्यसम्म वनविनाश अन्त्य गर्ने मार्गमा राख्न सन् २०२१ मा एक सय ४० भन्दा बढी नेताहरूले गरेको प्रतिबद्धतामा यो ‘उल्लेखनीय रूपमा बढी’ थियो ।

वनहरू विश्वका ८० प्रतिशत स्थलीय वनस्पति र जनावर प्रजातिहरूको घर हुन् र जल चक्रलाई नियमन गर्न तथा विश्व तापक्रमका लागि जिम्मेबार प्रमुख हरितगृह ग्यास कार्बनडाइअक्साइड सोस्नका लागि महत्त्वपूर्ण हुन् ।

“विश्वव्यापी रूपमा दशकको प्रारम्भदेखि वनविनाश सुधारिएको छैन, बरु बिग्रिएको छ”, क्लाइमेट फोकसका जैविक विविधता र भूमि उपयोग परामर्शदाता तथा ‘वन घोषणा मूल्याङ्कन’ प्रतिवेदनका प्रमुख लेखक इभान पाल्मेगियानीले भने, “हामी वनविनाश अन्त्य गर्ने महत्त्वपूर्ण विश्वव्यापी सममसीमाबाट मात्र छ वर्ष टाढा छौँ र वनहरू अझै चिन्ताजनक दरमा काटिँदै, क्षीण हुँदै र जलाइँदैछन् ।”

सन् २०२३ मा ३७ लाख हेक्टर उष्णकटिबन्धीय प्राथमिक वन– विशेषगरी कार्बन समृद्ध र पारिस्थितिकीय रूपमा जैविक विविधायुक्त वातावरण– नष्ट भयो । यो सन् २०३० को लक्ष्य पूरा गर्न उल्लेखनीय रूपमा घट्नुपर्ने थियो ।

– सोया र निकेल – 

उच्च जोखिमयुक्त क्षेत्रहरूमा अनुसन्धानकर्ताहरूले बोलिभिया र इन्डोनेसियामा पछाडि फर्कन सङ्केत गरेका छन् ।

प्रतिवेदनले बोलिभियामा वनविनाशमा ‘चिन्ताजनक वृद्धि’ भएको बताएको छ । यहाँ सन् २०१५ र सन् २०२३ को बीचमा वनविनाश तीन सय ५१ प्रतिशतले बढेको छ ।

‘वनविनाश प्रवृत्तिले कम हुने कुनै सङ्केत’ नदेखाएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ वनहरू कृषि विशेषगरी सोयाका साथै गाईवस्तु र चिनीका लागि पनि फडानी गरिएको छ ।

इन्डोनेसियामा वनविनाश सन् २०२० देखि सन् २०२२ को बीचमा घटेको भए पनि गत वर्षदेखि तीव्र रूपमा बढ्न थालेको छ ।

कपडाका लागि भिस्कोस र विद्युतीय सवारी साधनका बेट्री र नवीकरणीय ऊर्जा प्रविधिका लागि निकेल उत्खननमा वृद्धिजस्ता आंशिकरूपमा प्राय पर्यावरणमैत्री मानिने सामग्रीहरूको मागका कारण यहाँ वनविनाश बढेको हो ।

ब्राजिलबाट राम्रो समाचार आएको छ । ब्राजिल अझै पनि विश्वमा सबैभन्दा बढी वनविनाश भएको मुलुक हो तर यसले महत्त्वपूर्ण प्रगति गरेको छ । अमेजनमा स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ ।

मुलुकले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले लागु गर्नुभएको संरक्षणात्मक उपायहरूबाट फाइदा लिएको छ । यद्यपि अमेजनको तल रहेको महत्त्वपूर्ण उष्णकटिबन्धीय घाँसेमैदान सेराडोमा वनविनाश बढेको छ ।

– वन क्षयीकरण –

काठ काट्ने, सडक निर्माण र आगलागीले भूमि पूर्ण रूपमा नष्ट नभई क्षति पुर्याउने भन्दै प्रतिवेदनले वन क्षयीकरणको भूमिकामाथि पनि प्रकाश पारेको छ ।

सन् २०२२ मा अन्तिम पटक आँकडा उपलब्ध भएको वर्ष जर्मनीको दोब्बर आकारको वन क्षेत्र क्षय भएको थियो ।

क्लाइमेट फोकसका वरिष्ठ परामर्शदाता तथा प्रतिवेदनका सह–लेखिका एरिन म्याट्सनले ‘बलियो नीति र बलियो कार्यान्वयन आवश्यक रहेको’ बताइन् । “विश्वव्यापी वन संरक्षण लक्ष्य पूरा गर्न हामीले वन संरक्षणलाई राजनीतिक र आर्थिक लहडहरूबाट अछूतो बनाउनुपर्छ”, उनले भनिन् ।

उक्त प्रतिवेदन गैरसरकारी संस्थाहरूको विरोधका बाबजुद आफ्नो वनविनाश विरोधी कानून लागू हुन एक वर्ष (सन् २०२५ को अन्त्यसम्म) स्थगन गर्ने युरोपेली आयोगको गत साता प्रस्तावलाई दृष्टिगत गरी आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here