बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति



जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा  १० करोड ४० लाख रुपैयाँ  बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो । 

सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका  डिभिजन प्रमुख अनुभव चौधरीले बताए  । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाही तर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्र्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । 


रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखा अन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्‍याएको छ । यस्तै सर्लाहीतर्फको पूर्र्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पुर्‍याएको प्रमुख चौधरीले बताए । विसं २०३५ मा निमार्ण शुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here