बाढी प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै



काठमाडौं । यही असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै गएको छ ।

बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा खम्बा ढल्ने, तार चुँडिने लगायत कारणले अवरुद्ध टेलिफोन सेवा मर्मतपछि सहज बन्दै गएको नेपाल टेलिकले जनाएको छ । 


टेलिकमका प्रवक्ता हरि ढकालले भने , “काठमाडौँ, भक्तपुर, धादिङ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर लगायत बाढी प्रभावित जिल्लामा केही समय अवरुद्ध भए पनि अहिले सेवा सञ्चालन भइसकेको छ । बिजुली नभएकाले काभ्रेपलाञ्चोक र ललितपुका केही स्थानमा सञ्चालन हुन बाँकी सेवा यथाशीघ्र सञ्चालनका लागि प्रयास भइरहेको छ ।” बाढी, पहिरो र डुबानपछि सरकारले इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्यूठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी लगायत २१ जिल्लालाई प्रभावित जिल्लाका रुपमा राखेको थियो । 

टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असोज १० देखि १२ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी, पहिरो र डुबान लगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब  ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा नआइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । । टेलिफोन सेवा प्रदायक दुई कम्पनी दूरसञ्चार (एनटिसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब  २२ करोड रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ । 

नेपाल टेलिकमले नेपालीको महान् चाड दशैं, तिहार तथा छठलगायतका विभिन्न पर्वका अवसरमा आफ्ना ग्राहकका लागि दशैं अफर उपलब्ध समेत गराएको छ । टेलिकमका प्रवक्ता ढकालका अनुसार असोज १३ देखि अगामी कात्तिक २३ सम्म दसैँ अफर उपलब्ध गराइनेछ । सो अफर अन्तर्गत सहुलियत दरका ‘भ्वाइस’, ‘डाटा’ तथा ‘एफटीटीएच’का ‘प्याकेज’ हरू आजदेखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत साविकका एफटिटीएचका प्याकेजमा साविककै मूल्यमा थप ‘ब्याण्डविथ’ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबिपिएस गतिका एफटिटिएच डाटारकम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबिपिएस ब्याण्डविथ कायम गरिएको टेलिकमले जनाएको छ । 

यो अफर उल्लेखित समयावधि भित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहने प्रवक्ता ढकालले बताए  । साथै एफटिटिएच नयाँ जडानमा जडान शूल्क रु ५०० मिनाहा समेत गरिएको छ । यसैगरी दसैँ अफर अन्तर्गत नै जिएसएम सेवाका ग्राहकका लागि  ७९९ मा अल नेट ‘अनलिमिटेड भ्वाइस’ सुविधा, ४५ जिबी डाटा र ५०० ‘अल नेट एसएमएस’ सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको कम्पनी मार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here