बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी, वर्षात्मै काकाकुल स्थानीय



काठमाडौँ । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् ।

सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बू गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महांकालमा प्रशोधन हुन्छ ।


दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् । हिउँदमा यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको बागमतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने बागमती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछीका स्थानीय राममाया नगरकोटी खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नं १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उनी बताउँछन् ।

धारामा धेरै मानिस खानेपानीका लागि लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने धम्की दिने गरे पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्छन् ।

विसं २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित थिए । नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र बागमतीको पानी सहरमा वितरणका लागि नपठाइ बागमतीमा बगाउने चेतावनी दिएका थिए । तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले बेवास्ता गरेको स्थानीय घनेन्द्र लामाको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले छ महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापनपत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २, ३ र ४ नं वडामा भएको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिका वडालाई मात्र समेटेकामा स्थानीयवासीको गुनासो छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा पनि स्थानीयवासीले समस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् ।

मेलम्ची खानेपाली राजधानी ल्याउन अवरोध गरेका हेलम्बूवासीसँग सोमबार सम्झौता भएपछि आजदेखि नै पानी राजधानी पथान्तरण हुने खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको पानी राजधानी आएपछि खानेपानी नपाए आन्दोलनमा उत्रनुको विकल्प नहुने स्थानीय बासिन्दाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here