प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् : प्रचण्ड



जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् ।

सोमबार प्रेस सेन्टरले जुम्लाको सिंजामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताएका हुन् ।


उनले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘मैले उतिबेला नै भनेको थिएँ, सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दै छ, तपाईँहरूले सबै देखिरहनुभएको छ । मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरेको छ । तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैंले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिए ।

उनले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी बिपक्ष दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदै छौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here