पाँच वर्षपछि मोदी र सीबीच पहिलो द्विपक्षीय वार्ता, सम्बन्ध सुधारको संकेत



भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् ।

यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको झडपपछि छिमेकी राष्ट्रहरूबीच सम्भावित सुधारको सङ्केत गरेको छ ।


चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा आयोजित ब्रिक्स बैठकको अवसरमा भेटवार्ता गरेका हुन् । यो पाँच वर्षपछि दुई नेताबीचको पहिलो औपचारिक भेट हो ।

सीले मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने बताएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।

“चीन र भारतले इतिहासको प्रवृत्ति र द्विपक्षीय सम्बन्धको विकासको दिशालाई सही ढङ्गले बुझ्नु दुवै देश र जनताको मौलिक हितमा छ”, सरकारी प्रसारक सिसिटिभीले सीलाई उद्धृत गर्दै भनेको छ, “दुवै पक्षले सञ्चार र सहकार्य बढाउनुपर्छ, मतभेद र भिन्नताहरूलाई उचित ढङ्गले सम्हाल्नुपर्छ र एक अर्काको विकासका सपनाहरूलाई साकार पार्नुपर्छ ।”

सीले मोदीलाई दुवै देशले ‘अन्तर्राष्ट्रिय जिम्मेवारीहरू बहन गर्नुपर्ने, एकतामार्फत शक्ति खोज्ने विकासशील देशहरूका लागि उदाहरण बन्नुपर्ने र बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रीकरणमा योगदान पुर्याउनुपर्ने’ बताउनुभएको सिसिटिभीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here