निर्वाचनको रात ‘उच्च दाउ’ का लागि सबैको ध्यान अमेरिकी टिभी नेटवर्कहरूमा



न्युयोर्क । केही हप्तासम्म जारी रहनसक्ने परिणामको रिक्तताको सामना गर्दै अमेरिकी टिभी नेटवर्कहरूले गल्ती र दुष्प्रचारबाट बच्न अभूतपूर्व दबाबको पृष्ठभूमिमा प्रसारण भर्न तयारी गरिरहेका छन् ।

सन् २०२० मा राष्ट्रपति बाइडेनको विजय घोषणा गर्न तनावपूर्ण चार दिन लागेको थियो ।


यस वर्ष पनि विशेषज्ञ र पर्यवेक्षकहरूले एक–एक गरी राज्यहरू डेमोक्रेट्स वा रिपब्लिकन्सको पक्षमा हुने घोषणा र तीसँगै जीतका लागि आवश्यक दुई सय ७० इलेक्टोरल कलेज मतको प्रतीक्षा गर्नेछन् ।

“यो सबै सात अत्यन्त प्रतिस्पर्धी स्विङ राज्यमा निर्भर हुनेछ र धेरै राज्यमा त्यो साँझ ढिलो भोलिपल्ट बिहान वा केही मामलामा चुनावपछिको केही दिनसम्म पनि प्रक्षेपण गर्न पर्याप्त डाटा हुनेछैन”, एडिसन रिसर्चका कार्यकारी उपाध्यक्ष जो लेन्स्कीले भने ।

उनको संस्थाले एबिसी, सिबिएस, एनबिसी न्युज र सिएनएन नेटवर्कहरूका लागि एग्जिट पोल, प्रक्षेपण र मत गणना उत्पादन गर्नेछ ।

जटिल निर्वाचन प्रणालीको अतिरिक्त, मतदान र गणना प्रक्रियाहरू क्षेत्रअनुसार फरक छन् ।

लेन्स्कीले दुई महत्त्वपूर्ण स्विङ राज्य विस्कन्सिन र पेन्सिल्भेनियालाई औँल्याए । यहाँ नोभेम्बर ५ को चुनावी दिनसम्म अग्रिम मतगणना सुरु हुँदैन ।

हप्तौँसम्म कुनै आधिकारिक नतिजा नआउँदा पूर्वराष्ट्रपति ट्रम्प वा उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा राज्यहरू घोषणा गर्ने जिम्मेवारी टिभी समाचार नेटवर्कहरूमा पर्छ ।

आकर्षक टिभी स्टुडियोहरू पछाडि वास्तविक दबाब प्रस्तोता र विश्लेषकहरूमा नभई नेटवर्क निर्णय डेस्कहरूमा हुनेछ । तथ्याङ्कविद् र विश्लेषकहरूको टोलीले छरिएका प्रारम्भिक नतिजाहरूमा आधारित अनुमानहरू एङ्करहरूलाई उपलब्ध गराउनेछन् ।

– जबरजस्त दबाब –

“दाउ धेरै उच्च छ… दर्शकहरूलाई जानकारी उपलब्ध हुनासाथ छिटो दिने दबाब ठूलो छ तर सबैभन्दा ठूलो जोखिम भनेको गतिका लागि सटीकतालाई त्याग्नु हो”, नर्थइस्टर्न विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक तथा एनबिसी निर्णय डेस्कका पूर्व सदस्य कोस्टास पानागोपुलोसले भने ।

सन् २०२० नोभेम्बर ३ मा मतदान बन्द भएको केही घन्टापछि नै अमेरिकाको सबैभन्दा लोकप्रिय कन्जर्भेटिभ च्यानल फक्स न्युजले एरिजोनालाई बाइडेनको पक्षमा घोषणा गरेर ट्रम्पको सम्भावनामा ठूलो धक्का दिएको थियो ।

केही दिनपछि अन्य मिडियाले पुष्टि गरेको यो घोषणाले ट्रम्प समूहलाई आक्रोशित बनाएको थियो ।

सम्भवतः सबैभन्दा नराम्रो घटना सन् २००० मा फ्लोरिडालाई डेमोक्रेटिक उम्मेदवार अल गोरको पक्षमा समयभन्दा अगावै घोषणा गरेपछि नेटवर्कहरूले गरेको यु–टर्न थियो ।

विश्वसनीयतामा क्षति पु¥याउने यस्तो घटना दोहोरिन नदिन मिडियाहरू एग्जिट पोल मात्र नभई अग्रिम मतदाताहरूको सर्वेक्षण पनि प्रयोग गर्ने उन्नत विश्लेषणमा भर परिरहेका छन् ।

– राजनीतिक नाटक –

निर्वाचन वकिल बेन गिन्सबर्गले सन् २०२० को ‘रेड मिराज’ दोहोरिने अपेक्षा गरे । त्यो बेला डेमोक्रेट्स मन पराउने मेल–इन मतपत्रहरू गणनामा थपिँदै जाँदा रिपब्लिकनको प्रारम्भिक अग्रता घट्दै गएको थियो ।

“यस वर्ष रिपब्लिकनहरूले आफ्ना मतदाताहरूलाई अग्रिम मतदान गर्न गरेको प्रयासले यो ढाँचा परिवर्तन गर्छ कि गर्दैन, त्यो अझै अस्पष्ट छ”, गिन्सबर्गले न्युयोर्क टाइम्सको सम्पादकीयमा लेखेका छन् ।

नतिजा आउने म्याराथन दौडमा च्यानलहरूले कथित निर्वाचन धाँधलीबारे अपेक्षित दुष्प्रचारको छालविरुद्ध सटीकता र पारदर्शिता कायम राख्दै दर्शकहरूलाई कायम राख्न सङ्घर्ष गर्नेछन् ।

सिएनएनले आफ्नो ‘म्याजिक वाल’ पुनः प्रयोग गर्नेछ । यसले मुख्य राष्ट्रिय संवाददाता जन किङलाई पुराना मतहरूको विश्वकोशीय ज्ञान प्रदर्शन गर्दै प्रवृत्तिहरू दृश्यात्मक रूपमा देखाउन सक्षम बनाउनेछ ।

एनबिसी न्युजले नोभेम्बर ५ देखि एक लाखभन्दा बढी मतदान केन्द्रबाट तथ्याङ्क कसरी सङ्कलन गरिनेछ भन्ने बारे विस्तृत लेखहरू प्रकाशित गरेको छ ।

उनीहरूले सिनेट र प्रतिनिधिसभाको चुनावसहित छ सय १० मतदानको नतिजा सही ढङ्गले प्रक्षेपण गर्न लिइने सावधानीहरूको पनि विस्तृत विवरण दिएका छन् ।

“हाम्रा साझेदार समाचार संस्थाहरूले आफ्ना दर्शकहरूलाई प्रदान गर्ने तथ्याङ्कको मात्रा… पहिले कहिल्यै प्रदान नगरिएको भन्दा बढी छ । पहिलेभन्दा बढी विवरण, बढी नक्सा, बढी विश्लेषण छ”, लेन्स्कीले भने ।

“ढिलाइ आफैँमा षड्यन्त्रको प्रमाण होइन”, गिन्सबर्गले आफ्नो स्तम्भमा लेखेका छन्, “यदि कुनै पनि उम्मेदवारले मत गणना हुनुअघि नै विजयको घोषणा गरे भने त्यसलाई राजनीतिक नाटकका रूपमा लिनुहोस् ।”