निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिगको ‘सुपर सिक्स’मा



बैतडी । निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो ।

जितका लागि पाएको २४३ रनको विशाल लक्ष्य पछ्याएको नागार्जुन १८ ओभरमा १७८ रनमा समेटियो । नागार्जुनका अनुराग चन्दले सर्वाधिक ४५ रनको योगदान गरेपनि जितका लागि सम्भव भएन । निङगलाशैनीका गजेन्द्र बोहराले तीन, खडक बोहरा र विरेन्द्र चन्दले दुई–दुई विकेट हात पारे ।


खडक म्यान अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । टस हारेर ब्याटिङको निम्ता पाएको निङ्गलाशैनीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २४२ रन बनायो । जसमा दीपक बोहराले अविजित ७८, खडक बोहराले ६३ रनको योगदान दिए ।

नागार्जुनका धिरज ठगुन्ना, गोविन्द नाथ, अम्मर चन्द र कृष्ण भाटले एक–एक विकेट हात पारे । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोली सहभागी छन् । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कार ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए ।

यसैगरी म्यान अफ द सिरिज बापत् १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here