नवलपरासीको कोल्हुवामा सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो गोल्ड कप सुरु



मध्यविन्दु (नवलपरासी) । दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कोल्हुवामा सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुँदैछ ।

मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् ।


खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा हनामी क्लब र देशभक्त फुटबल क्लब भिड्ने छन् ।

भारतको मणिपुरबाट फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने राइनो क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित आठ लाख पुरस्कार हात पार्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको अध्यक्ष भण्डारीले बताए । प्रतियोगिता विसं २०७०देखि सञ्चालन हुँदै आएको छ ।