दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’



देउखुरी (दाङ) । दुर्गापक्षअन्तर्गत आज पहिलो दिन घरघरमा देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दसैँको सुरुआत भएको छ ।

थारू समुदायमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि सखिया र झुमरा नाच नाच्ने परम्परा रहेकाले यसको चहलपहल बढेको हो । झुमरा नाचमा दसैँविशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने चलन रहेको घोराही उपमहानगरपालिका–६ का भीमबहादुर चौधरीले बताए ।


थारू जातिको पौराणिक भाषा, वेशभूषा, रहनसहन, संस्कार, कला तथा सांस्कृतिक परम्परा अनुसार सखिया र झुमरा नाच्ने गरिएको भन्दै यसको आफ्नै मौलिक पहिचार र महत्व रहेको उनले उल्लेख गरे ।

आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पछि परे पनि सांस्कृतिक हिसाबले थारू जाति अगाडि रहेका चौधरीको भनाइ छ । थारू जातिले माघे सङ्क्रान्तिलाई सबैभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । साथै अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन् ।

घोराही–१० की गरिमा चौधरी दसैँको तयारीमा जुटेका छन्। उनले दसैँलाई चाहिने सबै सामग्रीको बन्दोबस्ती गरिसकेको बताए । दाउरा, पात खुटेर दुना, टपरी बनाउनुका साथै धान कुटपिस गरेर राखिएको उनको भनाइ छ ।

दसँैमा गाउँघरमा बाहिर गएका सबै आउने र भेटघाट हुने भएकाले रमाइलो हुने बताउँदै गरिमाले दिनभर घरको काम गर्ने र साँझको समयमा ‘सख्या’ नाच नाच्ने गरिएको जानकारी दिए ।

घोराही–६ का भीमबहादुरले दसैँमा पाठपूजाका साथै ‘सख्या’ नाचको ठूलो महत्व रहेको बताए । “थारू जातिका युवतीले महाभारतमा आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्ने गर्दछन्”, उनले भने, “युवाको समूहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन् । यो नाच कृष्ण जन्माष्टमीको रातदेखि नाच्ने गरिन्छ ।”

महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाच र आफ्नो घरको कुलदेवतालाई पशुपन्छी बलि दिने, ढिक्री चढाउने, बाबरी फूल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेडा बनाएर देउताको अगाडि बलि दिनेजस्ता धार्मिक काम पनि दसैँमा गरिने भीमबहादुरले जानकारी दिए ।

थारू समुदायमा नवमी धुमधामका साथ मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने प्रचलन रहेको भीमबहादुरले बताए । “थारूहरुले नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा (कुपिण्डोबाट बनाइएको भेडा) र भालेको बलि दिने र त्यसको पित्तर (पिण्ड) दिने चलन छ । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन्”, उनले भने ।

नवमीका दिन थारू युवायुवती रातभर सखिया र झुमरा नाच नाच्ने परम्परा रहेको घोराही–१ का विष्णु चौधरीले बताए । “परम्परागत चाड दसैँ अरु समुदायले भन्दा थारू समुदायको फरक किसिमले मनाउने गर्दछन् । यो नाचले दसैँको रौनकलाई अझ बढाउने गर्दछ । प्रायः युवकले मादल बजाउने र युवती नाच्ने प्रचलन छ”, उनले भने ।

रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचले दसैँको गरिमा र महत्व बढाएको थारू समुदायका अगुवा बताउँछन् । घटस्थापनाका दिनदेखि थारू बस्तीमा रमाइलो सुरु हुन्छ । थारू बस्तीको नाचगान हेर्न गाउँघरबाट सबै जम्मा हुने भएकाले यसले सामूहिक एकतालाई पनि प्रतिनिधित्व गर्ने विष्णुको भनाइ छ ।

बस्तीमा मादल र मञ्जिराको आवाज बज्न थाल्यो

कृष्ण जन्माष्टमीदेखि सुरु हुने सखिया नाचले दसैँ आउन थालेको सङ्केत गर्दछ । अहिले गाउँबस्तीमा मादल र मञ्जिराको सुमधुर आवाजले गुञ्जायमान भएको छ । दसैँ भित्रिएसँगै यहाँका थारू बस्तीमा सखिया नाचको रौनकता छाएको छ । साँझ पर्ने वित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा दसैँ आएसँगै अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ ।

शिवपार्वती, कृष्णलगायत आफ्ना अरू देवीदेवतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने प्रचलन गरहेको स्थानीय विष्णु चौधरीले बताए । करिब १५ देखि २० जनाको समूहमा सखिया नाच्ने युवती फरिया, चोलिया, बुट्टेदार लेहङ्गाका साथै थारू कला र संस्कृति झल्कने गरगहनामा सजिएका हुन्छन् ।

खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन् । उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । देउताको पूजा गरेर मादल बजाउने वा बन्द गर्ने भन्ने हुन्छ । खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कात्तिकसम्मको करिब दुई महिना निकै मनोरञ्जन गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here