जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित



धुलिखेल (काभ्रेपलाञ्चोक) । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन् ।

बेथाचनोक गाउँपालिका वडा नं २, ३, ४ र ५ मा बाढीपहिरोबाट बढी क्षति भएपछि सो क्षेत्रका नागरिक अहिले कोही वृद्धाश्रम, कोही आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने कतिपय बासस्थान सबै बाढीपहिरोले नष्ट गरेपछि विस्थापित भएका छन् ।


बेथानचोक गाउँपालिका–२ मा बाढीले बगाएर क्षतिग्रस्त घर नजिकै काममा व्यस्त डल्लीकुमारी श्रेष्ठले जाडोयाम सुरु भएसँगै न्यानो बासस्थानको व्यवस्था कसरी गर्ने भन्ने चिन्ता लाग्न थालेको बताइन् । गत असोज १२ गते गएको पहिरोले घरमाथिबाट बगाउन थालेपछि घरदेखि हिँडेर पारी पाखामा पुगेर सुरक्षित महसुस भएको उनले सुनाइन् ।

बेथानचोक–२ बनेपाली टोलमा बस्दै आएकी श्रेष्ठले बाढीपहिरोले घरबार सबै बगाएपछि बस्ती नजिकैको महादेवथानमा रात कटाउँदै आएकी छिन् । खाना पकाउने र खाने भत्केको भग्नावशेषमा गर्दै आएको बताउँदै उनले जाडोमा न्यानो कसरी हुने भन्ने चिन्ताले पिरोल्न थालेको उल्लेह गरिन् ।

“पहिला पहिला वर्षा हुँदा गाउँ मुनि रहेको खोला गड्गडाएर वेगले बगेपनि अहिलेको जस्तो सबै बस्ती र बाटोघाटो भने बगाएको थिएन”, श्रेष्ठले भनिन्, “यसपालिको वर्षाले भएको घर बगायो, माथि रहेको बारी पनि पहिरोले बगायो ।” बाढीपहिरोले सबै बगाएपछि बस्न उपयुक्त जमिनसमेत नभएको उनले बताइन् ।

भत्केको घरको अवस्था देखाउँदै ५७ वर्षीय गोपालबहादुर श्रेष्ठले एक्कासि आउको बाढीले घर बगाएपछि केही निकाल्न पनि नपाएको पीडा सुनाउँदै दुई रातसम्म पारिपट्टी रहेको छिमेकीको घरमा बास बसेको बताए । जाडो सुरु भइसकेकाले राज्यले न्यानो बासस्थान व्यवस्थापन यथाशीघ्र गर्नुपर्नेमा उनले जोड दिए ।

भएको सबै जग्गा जमिन बगाएर अहिले कहीँकतै बस्ने ठाउँ नभएको बताउँदै गोपालबहादुरले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले पुनःनिर्माण र पुनःव्यवस्थापनमा राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । पीडितको अवस्था र आवश्यकताका आधारमा पुनःस्थापनाको काम गर्न स्थानीय सरकार तथा सरोकार भएकालाई उनले अनुरोध पनि गरे ।

गोपालबहादुर जस्तै नवराज श्रेष्ठको पनि सबै घरबार र सम्पत्ति बगाएपछि विस्थापित जीवन बिताउँदै छन् । विपद्मा परेर करिब तीन सातादेखि कष्टकर जीवन गुजार्दै आएका उनले तत्काल राज्यले बस्ने घर, खाने अन्नपात र लत्ताकपडाको व्यवस्था गर्न आग्रह गरे ।

स्थानीय कृष्णबहादुर श्रेष्ठले तत्कालका लागि खाद्यान्नसँगै बस्ने बासस्थानको व्यवस्थापनमा राज्यले प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । उनले पीडितको अवस्था र आवश्यकतालाई ध्यान दिँदै पुनःस्थापनाको काम गर्नुपर्नेमा जोड दिए ।

गाउँको तलतिर खोलाले तानेको र माथिबाट पहिरोले पुरेकाले आफुहरु त्यस ठाउँमा बस्न नसक्ने अवस्थामा पुगेको कृष्णबहादुरको भनाइ छ । बाढीले सबै बगाएपछि बास बस्ने उपयुक्त जग्गा नभएको भन्दै स्थानीय सरकार र सरोकार भएका निकायले यथाशीघ्र बासस्थानको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

स्थानीय सानुकान्छा श्रेष्ठले भएभरको सबैवस्तु बगाएर परिवारको बिचल्ली भएको भन्दै सरकारले सुरक्षित घरसहित खानाको व्यवस्थापन गरिदिन आग्रह गरे । घरमाथिको बारी पहिरोले बगाएको र घर तलतिर रहेको खोलाले बगाएर लगेपछि अहिले पाटीको बास भइरहेको उनले सुनाए ।

बेथानचोक–३ का स्थानीय पदमबहादुर श्रेष्ठले बगाएर रहेको थोरै जमिनमा पनि माथिबाट लड्नै लागेको ठूलो ढु्ङ्गाको त्रासले थप पीडा दिने गरेको बताए । बाढीले चिरा पारेको बारीलाई कमाइ खाने थलो बनाउने वातावरण सृजना गरी घरको व्यवस्थापनका लागि राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ छ । बाढीपहिरो जानुअघिका सुन्दर गाउँबस्ती बगाएपछि बस्ने घर, बारी सबै नष्ट भएपछि बेथानचोकको अस्तित्व नै समाप्त भएको उनले बताए ।

बेथानचोक–२ का पूर्ववडाध्यक्ष दिलबहादुर श्रेष्ठले जाडो बढ्दै आएकाले ज्येष्ठ नागरिक, बालबालिका तथा सुत्केरी महिलाको सुरक्षाको लागि स्थानीय सरकारले सङ्घीय सरकारसँग आवश्यक समन्वय गरी उचित व्यवस्थापन गर्नुपर्ने बताए । पुनःनिर्माणका लागि गाउँपालिकाको स्रोतले मात्रै नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पालिकाभित्रको चार÷पाँच ठाउँमा बस्ती बस्न नसक्ने गरी बाढीले बगाएकाले ती बस्तीका नागरिकलाई तत्काल व्यवस्थापनका लागि तीनै तहका सरकारले आवश्यक पहल गर्नुपर्ने बताए । पीडित परिवारलाई जीविकोपार्जन र बासस्थानको व्यवस्थापनमा सबै निकायबीच सहकार्य र समन्वय हुनु आवश्यक रहेकामा उनले जोड दिए ।

बाढीपहिरो गएको तीन साताभन्दा बढी भइसकेको अवस्थामा पुनःस्थापनामा ढिलाइ हुँदा ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती बढी प्रभावित भएका छन् । एकातिर बस्ने न्यानो ठाउँ नभएको, अर्कोतिर भोक लागेको बेलामा निकालेर खाने अन्नपात केही नभएपछि अधिकांश परिवार बिचल्लीमा परेका छन् ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले समस्यामा परेका नागरिलाई उद्धार र राहत उपलब्ध गराउनेदेखि सडक, विद्युत्, सञ्चारको काम सकिएर पुनःस्थापना र पुनर्वासको काममा केन्द्रित हुनेतर्फ स्थानीय सरकार लागिरहेको जानकारी दिए । पुनःस्थापना कार्यमा आवश्यक सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरिरहेको भन्दै जाडोयाम अघि जोखिमयुक्त परिवारको पहिचान गरी पुनर्वासको व्यवस्था गरिने उनले उल्लेख गरे ।

पालिकाले गरेको आग्रह अनुसार नबिल बैंकले एक सय अस्थायी आवास बनाउन सहयोग गर्ने सहमति भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । व्यक्तिगत घरसँगै विद्यालय भवन, स्वास्थ्य संस्थालगायत सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको आवश्यक मर्मत, रङ्गरोगन, पुनःनिर्माण र स्थानन्तरण गर्नुपर्ने भएकाले सोही अनुसारका काममा पालिका केन्द्रित भइरहेको उनले बताए ।

पालिकाभरमा सातसय घर पूर्णरुपमा क्षति हुनुका साथै पाँच सय घरमा आंशिक क्षति, २३ विद्यालय र पाँच वटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिए । पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था गरी जाडोबाट जोगाउने काममा स्थानीय रकारले आवश्यक पहल र समन्वय गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here