खोला किनारमा मानव कङ्काल फेला, चार जना नियन्त्रणमा



झापा । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।


गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा कङ्काल भेटिएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।