कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गरेका छन् ।

मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुभारम्भ गरेका हुन् । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ ।


बीमाको रियल टाइम सफ्टवेयरको शुभारम्भ गर्नुहुँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा बीमाका लागि रु दुई अर्ब छ करोड बजेट रहेको उल्लेख गर्दै बीमाको माग बढी भएमा मन्त्रालयको अन्य शीर्षकको बजेटबाट पनि व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । बीमा गर्न चाहने सबै किसानलाई यसमा आबद्ध हुन पनि उनले आह्वान गरेका छन् ।

आफूले कार्यभार सम्हालेको सय दिनमा भएका उपलब्धिका बारेमा जानकारी गराउँदै मन्त्री अधिकारीले दूध किसानले जेठ मसान्तसम्मको दूधको भुक्तानी पाएको जानकारी दिए । बाँकी चार महिनाको भुक्तानी पनि छिटो दिने गरी पहल भइरहेको उनले सुनाए । रासायनिक मलको समस्या कम गर्न सफल भएको, उखु किसानको भुक्तानी गरिएको जस्ता उपलब्धि यस अवधिमा मन्त्रालयले हासिल गरेको छ ।

‘असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षा र त्यसबाट आएको बाढीपहिरोका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा रु छ अर्बको क्षति भएको छ, धान, माछापालन, पशुपन्छी, खोर, सिँचाइ प्रणाली, भण्डारण गरिएको दानामा क्षति भएको छ, यो वर्ष धान उत्पादन बढ्ने पूर्वअनुमान गरिएकामा बाढी पहिरोले धान उत्पादन घट्ने देखिएको छ’, मन्त्री अधिकारीले भने ।

कृषि अनुदान सार्वजनिक गरिने सरकारबाट किसानले पाएको अनुदानको विवरण सार्वजनिक गर्न पनि मन्त्रालय लागिपरेको उहाँले कार्यक्रममा जानकारी गराए । यसका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । यो समितिले किसानलाई दिएको अनुदानको अध्ययन गरेर पुस्तिका बनाई सार्वजनिक गर्ने तयारी गरिरहेको मन्त्री अधिकारीले बताए । यसअघि प्रतिबद्धता गरिएको समयमा कृषि अनुदानको विवरण सार्वजनिक गर्न नसकिएको स्वीकार गर्दै उनले यसबाट पछि हट्ने पक्षमा मन्त्रालय नरहेको मन्त्री अधिकारीको भनाइ थियो ।

आफू मन्त्री भएपछि नै बीउविजन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गराएको उल्लेख गर्नुहुँदै उनले नफल्ने बीउविजनको बिक्री वितरण गर्नेलाई अब कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । आफ्नो खेत अधियामा दिएपछि खेत कमाउनेले ल्याएर रोपेको बीउमा बाला नलागेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यस्तो बीउविजन बिक्री वितरण गर्नेलाई कारबाही गरिने बताए ।

थाक्रे गाउँपालिकाले वितरण गरेको मकैको बीउबाट मकै नफलेकाले यस्तो बीउबिजन बिक्री गर्नेले अबै कारबाहीबाट बच्न नसक्ने उनको प्रतिबद्धता थियो । बाँदरबाट किसानले पाएको दुःखको समस्या समाधान गर्न कृषि र वन मन्त्रालयका कर्मचारीलाई तालिम विदेश पठाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले बाँदरबाट कृषि क्षेत्रमा परेको प्रभाव अन्त्य गर्न पनि मन्त्रालय लागिपरेको जानकारी गराए ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बीमाप्रति विश्वास बढेकाले डिजीटल प्रविधिबाट पनि आवेदन गर्न सकिने गरी आजदेखि शुभारम्भ गरिएको बताए । गत वर्ष रु एक अर्ब ७३ करोड बीमाको भुक्तानीका लागि दावी भएको उनले सुनाए । प्राधिकरणका निर्देशक निर्मल अधिकारीले कृषि बीमाका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here