कृषि उपकरणको प्रयोगले किसानलाई सहज



घोराही (दाङ) । दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ । उत्पादन समेत बढेको छ ।

खेती गर्न जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि उपकरणको प्रयोग बढ्दै जान थालेको छ । कृषि व्यवसाय गर्नेको सङ्ख्यामा कमी आएको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको राजपुर गाउँपालिका–६ गङ्गदीका किसान निमराज चौधरी बताउँछन् । सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेको बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उनी बताउँछन्।


जोत्नेसँगै धानलगायतका अन्यबाली दाउँनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिने बनाएको चौधरी बताउँछन् । आधुनिक तरिकाले खेती गर्दा सहज भएको उनको भनाइ छ । थोरै खेती गर्दा पनि वर्षभरी खान पुगेको अनुभव उनको छ ।

चौधरीले भने, “अहिले प्रविधिको प्रयोगले खेती गरिदिने व्यक्ति खोज्नुपर्ने बाध्यता हटेको छ, गाउँमा पछिल्लो समय गोरु पाल्न छोडिसकेका छन् । तर प्रविधिको सहयोगले खेतबारी जोत्नेदेखि दाउनेसम्म व्यवस्था भएपछि अहिले धेरै राम्रो भएको छ ।” राजपुर गाउँपालिका–६ गङ्गदीमा रहेको बड्का बगिया कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका चौधरीले कृषि सहकारीले पनि विभिन्न कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको बताए ।

विगत केही वर्षयता ट्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको राजपुर गाउँपालिका–५ सालभौरीका गोविन्द चौधरी बताउँछन्। उनले भने, “सानो परिवारमा खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउने समेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।” उनका अनुसार कृषियन्त्रको प्रयोगले पछिल्लो समय आफूजस्ता गाउँभरका किसानलाई सहजता भएको बताए ।

कृषि सहकारीले पनि ५० प्रतिशत अनुदानमा कृषि उपकरण, बीउ विजनसमेत प्रदान गर्दा सहज भएको चौधरी बताउँछन् । कृषिमा काम गर्ने व्यक्तिको अभावमा खेतबारी बाझो भइरहेको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको उनले बताए । चौधरीले भने, “गाउँमा जोत्नका लागि गोरु छैनन्, । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि देश बाहिर छन् । यसले अधिकांशको खेतभरी बाझै रहने अवस्था थियो । तर गाउँमा जोत्न ट्र्याक्टर र दाउन थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।”

धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको चौधरीले बताए । उनले भने, “पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो । तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।”

बड्का बगिया कृषि सहकारी संस्थाका कृषि प्राविधिक कृष्णा चौधरीले कृषियन्त्रको प्रयोगले किसानलाई सहज भएको बताए । कम जनशक्तिले पनि धेरै उत्पादन गर्न सकिने उनले बताए । सहकारीमार्फत पनि कृषिसम्बन्धी विभिन्न चेतनाका कार्यक्रमसँगै कृषियन्त्र, मल, बीउलगायत किसानलाई ५० प्रतिशत अनुदानमा दिँदै आएको चौधरी बताउँछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here