किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने



काठमाडाैँ । सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए। उनका  अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ ।

डा. गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिए । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हुने बताए । ‘विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाउनेछौँ,’ उनले भने, ‘विद्यालयबाहिर रहेका किशोरीलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरेका छौँ ।’


यसअघि सरकारले सात प्रदेशका एक–एकवटा संघीय अस्पतालमा डेमोस्ट्रेसन (नमुना) का रूपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा. गौतमले उल्लेख  गरे ।  सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब  ६ हजार पर्ने जानकारी दिए । 

एचपिभी खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सरकारले खरिद गरेको हो । खोप शाखाका प्रमुख डा. गौतमले अर्को वर्षदेखि एचपिभीलाई नियमित खोप अभियानअन्तर्गत राखिने जानकारी दिए।  खोप एकपटक लगाएरपछि जीवनभरका लागि काम गर्ने भएकाले खोप अभियानमा सहभागी हुन किशोरीसहित अभिभावकलाई उनले आग्रह गरे । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको संक्रमण रहेकाले यसको विरुद्ध खोप लगाउनुपर्ने बताइन्।