काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख सहयोग



काठमाडौँ । काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।


पालिकाहरुबाट सहयोगको माग भएपछि विपद व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका सिफारिस गरेर महानगर विपद व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ ।

वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ ।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ ।

सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरुबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत सञ्जाल विच्छेद भएको छ ।

खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जनाको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।

रोशी गाउँपालिका क्षेत्रभित्र १२ जनाको मृत्यु भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएका छन् । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसीबोका, गाई, भैंसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।

वेथानचोक गाउँपालिकाभित्र १२ जनाको मृत्यु भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरुमा क्षति पुगेको छ । गाई, भैँसी र बंगुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ । गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here