उद्धार र राहतसँगै अवरुद्ध सडक तत्काल सुचारु गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले बाढी पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ।

मंगलवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन्।


कांग्रेसले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक, पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको छ।

दशैँ-तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको घिमिरेले बताए।

बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको जानकारी दिएका छन्।

कांग्रेसले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

साथै हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here