श्रीलङ्कामा पर्यटन क्षेत्रबाट संकलित राजश्वमा ६१ प्रतिशतले वृद्धि



कोलम्बो । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर रहेको थियो ।


यस दक्षिण एसियाली देशले गत सेप्टेम्बरको महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्याङ्कमा उल्लेख भएको छ ।

यसैबीच, श्रीलङ्कामा गत सेप्टेम्बरमा एक लाख २२ हजार १४० जना पर्यटक भ्रमण गरेका थिए । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढी हो ।

श्रीलङ्कामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्राउने अपेक्षा गरिएको छ ।

पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here