वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो



वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजारको दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजारको तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ । 


चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो । चालु आर्थिक वर्षमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here