विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक



ललितपुर । गृहमन्त्री रमेश लेखकले हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताएका छन् । 

मंगलबार ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले विपदका पिडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोही अनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताए  ।


यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे  ।  रक्षामन्त्री मानवीर राईले विपद्बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । 

स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डोल्मामायाँ गोले लगायतले यहाँको प्रभावित क्षेत्र, क्षति विवरण, पुनःनिर्माण र पुनःस्थापनाको आवश्यकताका बारेमा जानकारी गराएका थिए । 

स्थलगत निरीक्षणका क्रममा आज सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीदे अनुगमन गरेको हो । यसअघि गृहमन्त्री लेखकले आइतबार र सोमबार काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी विपद प्रभावित क्षेत्रको अनुगमन गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here