विवादित भिडियो सार्वजनिक भएपछि बेलायती लेबर पार्टीका सांसद निलम्बित



लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीले विवादित भिडियो सार्वजनिक भएपछि आफ्ना एक सांसदलाई निलम्बन गरेको छ । भिडियो फुटेजमा सांसदले एक व्यक्तिलाई मुक्का हानी आक्रमण गरेको देखाइएको थियो । 

मेल अनलाइनले हिंसात्मक घटनाको भिडियो प्रकाशित गरेपछि सांसद माइक एमेसबरीलाई ‘अनुसन्धानका लागि’ निलम्बन गरिएको पार्टीले जनाएको छ । विवादमा तानिएका सांसदले उत्तरपश्चिम इङ्ल्यान्डको संसदीय सिटको प्रतिनिधित्व गरिरहेको पार्टीले जनाएको छ । शनिबार बिहान भएको घटनाको सम्बन्धमा सावधानीका साथ विवादित सांसदसँग स्वतन्त्र रूपमा सोधपुछ गरिएको प्रहरीले पुष्टि गरेको छ ।


चेशायर प्रहरीले फ्रडसाम सहरमा भएको आक्रमणको रिपोर्टमा अधिकारीहरूलाई बोलाइ ‘थप सोधपुछ’ जारी रहेको जनाएको छ ।

जुलाईमा बेलायतमा सत्तामा गएकोे लेबर पार्टीका प्रवक्ताले सांसद माइक एमेसबरीले घटनापछि चेशायर प्रहरीलाई सोधपुछमा सहयोग गर्दै आएको जनाए । उनका अनुसार हाल सोधपुछ चलिरहेकाले लेबर पार्टीले प्रशासनिक रूपमा एमेसबरीको लेबर पार्टीको सदस्यता निलम्बन गरेको हो ।

एमेसबरीले बयानमा सोधपुछमा सहयोग गर्दै समुदायका लागि खुला र पहुँच योग्य सांसद रहन कटिबद्ध रहने बताउँदै साथीहरूसँग साँझमा बाहिर निस्किँदा सडकमा खतरा महसुस गरेपछि उक्त घटना भएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here