लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि



काठमाडौ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । लुम्बिनीमा सन् २०२४ को जनावरीदेखि सेप्टेम्बरसम्म ९ महिनाको अवधिमा भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन बढेको हो । यस अवधिमा भारतीय र तेस्रो मुलुकका २ लाख ४९ हजार ६४१ पर्यटकले लुम्बिनी घुमेका छन् ।

लुम्बिनी विकास कोषका अनुसार पछिल्लो ९ महिनामा भारतबाट १ लाख ८५ हजार ४६८ जना पर्यटक लुम्बिनी घुम्न आउँदा तेस्रो मुलुकका ६४ हजार १७३ यहाँ आएका छन् । सन् २०२३ को यो अवधिमा १ लाख ६७ हजार ४ सय भारतीय र ४५ हजार ९४८ जना मात्रै विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए ।


भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्दा लुम्बिनी आउने स्वदेशी पर्यटक भने घटेका छन् । पछिल्लो अवधिमा ३ लाख ९५ हजार ७९१ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष यो अवधिमा ४ लाख २० हजार १८३ जना आएका थिए । पछिल्लो समय लुम्बिनीमा भइरहेका धार्मिक तथा आध्यत्मिक गतिविधिले पनि भारतीय पर्यटकलाई आकर्षित गरेको छ । 

मोल्हम् पुजा, त्रिपिटक र रामकथा वाचन, संयुक्त राष्ट्र संघका महासचिवको भ्रमण, योगा दिवस लगायतका ठूला कार्यक्रमले पनि लुम्बिनीमा पर्यटक आगमनका सकारात्मक प्रभाव पारेको छ । तर, लुम्बिनीमा पर्यटक भुलाउने गतिविधि नहुँदा ९० प्रतिशत पर्यटक उसैदिन फर्किने गरेका छन् । लुम्बिनीमै बस्ने विदेशी पर्यटक पनि अधिकांश गुम्बाहरुमा बस्दा लाभ उठाउन नसकेको व्यवसायीको बुझाई छ । 

शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मभूमि लुम्बिनी आन्तरिक मात्रै होइन् विश्वभरका पर्यटक एकपटक आउन चाहन्छन् । यसका लागि पर्यटनमैत्री वातावरण र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here