ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् ।
तर उनीहरूमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ ।
बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरूको चिन्ता छ ।
ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताए । उनले भने, “औषधि छर्केदेखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रूपमा हटिसकेको छैन । यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ ।”
नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, “विद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।”
हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताए । उनले भने, “दुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।”