राष्ट्रभाषाको संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

गोरखापत्र संस्थानमा आज आयोजित कार्यक्रममा ‘रानाथारु’ भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भाषाको विकास र संरक्षणले सम्बन्धित भाषा बोल्नेहरुको साहित्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।


मन्त्री गुरुङले संस्थानका प्रकाशनहरुलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन जोड दिँदै गोरखापत्रको डिजिटल प्रकाशनलाई प्रभावकारी बनाउन संस्थान पदाधिकारीहरुलाई निर्देशन दिए । गोरखापत्र दैनिकको अन्तर्राष्ट्रिय, विचार, राजनीतिकसहित अन्य विषयलाई समयसापेक्ष गुणस्तरीय बनाउन निर्देशन दिँदै उनले संस्थानका प्रकाशनहरुले सरकारको प्रतिनिधित्व गर्ने हुनाले समाचार सामग्री सन्तुलित, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

रानाथारु भाषाको प्रकाशनसँगै गोरखापत्रमा अब ४४ भाषाका सामग्री पढ्न सकिने भएको छ । दैनिकमा प्रकाशित सबै भाषाका ‘पिडिएफ कपी’ गोरखापत्र अनलाइनमा हेर्न र पढ्न सकिन्छ । गोरखापत्रमा बहुभाषिक ‘नयाँ नेपाल’ पृष्ठ २०६४ असोज १ गतेदेखि प्रकाशन सुरु भएको थियो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ गोरखापत्रको गौरव भएको बताउँदै संस्थानका प्रकाशनले भाषा, साहित्य र समावेशीताका क्षेत्रमा उल्लेखनीय काम गरी जनतालाई सरकारसँग जोड्ने काम गरिरहेको बताए ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानले भाषा पृष्ठ प्रकाशनका लागि स्पष्ट मापदण्ड बनाएर भाषा पृष्ठहरु थप्ने काम गरिरहेको बताए । नयाँ नेपाल विभागका प्रमुख विवेकानन्द मिश्रले गोरखापत्रमा प्रकाशन हुँदै आएका भाषा पृष्ठका बारेमा जानकारी गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here