मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’



काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानिन्। मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको भृकुटिमण्डपस्थित काठमाडौँ ‘फन पार्क’ पुगिन् । 

फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकीले भनिन्, “मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि ।” दसैँतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोजेका छन् । 


डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्छिन् । दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उनलाई बाल उद्यान खोज्नु परेको हो । 

कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उनले पनि फन पार्क घुमाउन आउने गरेको बताइन् । भृकुटिमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गरेकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाइन् । 

शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उनी जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउँछिन् । “फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु”, उनले भनिन्,“पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।” 

महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताए । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उनले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताए । 

पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताए । उनका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्याे भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उनले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here