माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष दाहाल



भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुंगोमा पुग्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जन सांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।


अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उनले भने ।

अध्यक्ष ‘प्रचण्ड’ले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, योद्धाहरूको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायत काम गरिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए आगामी निर्वाचनमा पहिलो संविधानसभाको जस्तै अवस्था आउने बताए । जनताको जीवन बदल्ने अभिभारा पूरा गर्न एकता आवश्यक रहेको धारणा राखे ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र संघीयतालाई संस्थागत गर्दै लैजानुपर्ने बताइन् । त्यसका लागि माओवादी र वामपन्थी एकता जरुरी रहेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढंगले सोच्ने बेला आएको बताए । उनले सबै कम्युनिष्ट नेताहरूसँग छलफल भइरहेको र माओवादी शक्ति संगठित भएर समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here