भैँसीपालक किसानलाई अनुदान



रामपुर (पाल्पा) । भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।

यहाँका २५ किसानलाई प्रतिव्यक्ति ४० हजारका दरले रकम उपलब्ध गराइएको छ । किसानलाई दुहुनो भैँसीपालनका लागि ४० हजारका दरले २५ जनालाई अनुदान रकम सहयोग गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताए। आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको उनी बताउँछन् ।


वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले किसानको मागका आधारमा यस वर्ष २५ भैँसीका लागि अनुदानमा सिफारिस गरिएको हो । किसानको आयआर्जन उकास्नका लागि किसानमुखी कार्यक्रममा वडाले जोड दिएको छ ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आयआर्जनको माध्यम भनेको कृषि र पशुपालन रहेकाले यस क्षेत्रमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रममा सहयोगका कार्यक्रम नगरपालिकाबाट भइरहेको बताए ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरी हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदान लगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।