भुटानलाई पराजित गर्दै बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुग्न सफल भएको हो ।

बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली अजिमले एक एक गोल थपेका थिए । सातौं मिनेटमा ऋतुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । त्यसपछि लगातार भुटानमाथि दबाब बनाएको बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो ।


१५ औं मिनेटमा तोहुराले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि बंगलादेश २–० ले अघि बढेको थियो । २५ औं मिनेटमा बंगलादेशले तेस्रो गोल गरेको थियो । बंगलादेशकी सविनाले व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । ३४ औं मिनेटमा तोहुराले ब्यक्तिगत दोस्रो गोल डिबक्स बाहिरबाट गरेकी थिइन् ।

३७ औं मिनेटमा सविनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश पहिलो हाफमै फराकिलो अग्रतामा अघि बढेको थियो । ४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल गरेर अन्तर ५–१ मा झारिन् ।

पहिलो हाफमा ५ गोल गर्दा १ गोल ब्यहोरेको बंगलादेशले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्न सफल भइन् ।

उनले ह्याट्रिक पूरा गर्दा बंगलादेश ६–१ ले अघि बढेको थियो । ७२ औं मिनेटमा, बंगलादेशकी शिउली अजिमले गोल गरेपछि बंगलादेश ७–१ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो । आजै हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here