बाढीले ५० लाख बराबरको केरा नोक्सान



इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उनी चिन्तित छन् ।

उनले भने, “आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । ” उनले भारतको मदरासबाट मदरासी (चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएको थियो ।


यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

बाढीले ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् ।

यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पु¥याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदैआएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here