बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि



धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् ।

 काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।


बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइएका हुन् । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उनले बताए । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएको थियो  । चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उनीसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका हुन् । 

“असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फुलबहादुरले भने, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।” बाह्र जनाको परिवार रहेको उनको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढलिे बगाएको छ ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरुको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।

खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएको बताए । 

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताए । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here